‘यो पार्टीमा कसैको आँशु कसैको हाँसो भयो’-अष्टलक्ष्मी शाक्य-

काठमाडौं/ राष्ट्रपति उम्मेदवार छान्न मंगलबार एमाले स्थायी कमिटिको बैठक सात घन्टा चल्यो । साझ प्रधानमन्त्री निवाश बालुवाटारमा एमाले नेता माधवकुमार नेपालको ‘बर्थडे केक’ काटेर सुरु भएको स्थायी कमिटि बैठक मध्यरातमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्दै सकियो ।

बैठकपछि एमाले नेताहरुले सर्बसम्मत रुपमा विद्यादेवी भण्डारीलाई पुनः राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिएको बताए । तर, मध्यरातसम्म भएको बैठकमा एमाले नेताहरुबिच निकै रस्साकसी र विवाद भयो । राष्ट्रपति पदमा वर्तमान राष्ट्रपतिसँगै वरिष्ठ नेता झलनाथ खनालको दाबी थियो । वर्तमान राष्ट्रपतिलाई नै बनाउनका लागि अध्यक्ष केपी शर्मा ओली समुह लागेका थिए । माधव नेपाल समुहले खनाललाई बनाउनका लागि पहल गर्ने बताइए पनि स्वयम् नेता नेपाल भने खनललाई राष्ट्रपति बनाउने बिषयमा बोलेनन् । उनले पार्टीको अरु बिषयमा कुरा राखेपनि राष्ट्रपतिको बिषयमा बोलेनन् । उनले पार्टी पद्धतिमा नचलेको आरोप लगाए । भने, ‘तपाईं (अध्यक्ष) एकपक्षीय ढङ्गले चल्नुहुन्छ । यो ठीक भएन, विधि, प्रकृया, नियम केही नचाहिने ?’

उपाध्यक्ष वामदेव गौतमले पनि खनाललाई सघाउने चर्चा भएपनि उनी बैठकमा मौन रहे । कतिपय नेताहरुले उनीहरुको मौतनालाई भण्डारीप्रतिको समर्थनको रुपमा बुझेका छन् । नेपाल निकटका धेरैजसो स्थायी कमिटिका नेताहरु बैठकमा बोलेनन् । प्रधानमन्त्री ओली नेतृत्वको मन्त्री परिषद् बिस्तार बाँकी नै रहेको सन्दर्भमा मन्त्रीका अपेक्षा गरिरहेका नेताहरुले भने ओलीको प्रस्ताव विरुद्ध बोल्ने आँट गरेनन् । तर, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुषाल र सचिव योगेश भट्टराई भने खुलेर आफ्नो विचार राखे । उनीहरुले नेताहरुले राष्ट्रपति भण्डारीको भूमिकामाथि प्रश्न उठाए ।

ओलीले ‘राष्ट्रपतिमा कमरेड जेएन (झलनाथ खनाल)ले पनि इच्छा देखाउनु भएको छ, वर्तमान राष्ट्रपतिज्यूले पनि दोहोरिने चाहना व्यक्त गर्नु भएको छ, यसमा छलफल गरौं’ भन्दै बैठक सुरु गरेका थिए । त्यसपछि खनालले आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए ।

‘यो पार्टीमा कसैको आँशु कसैको हाँसो भयो’
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भने बैठकमा आक्रमक रुपमा प्रस्तुत भइन् । उनले राष्ट्रपतिले शितल निवाशबाट गुट चलाएको आरोप लगाइन् । उनले पार्टी बिधि, पद्धति र नियममा नचलेको भन्दै आक्रोश पोखिन् । उनले आफू विरुद्ध शीतलनिवासबाट विद्रोह गराइएको शितल निवाशबाटै उम्मेदवार खडा गरिएको बताइन् । उनले भनिन्, ‘मेराविरुद्ध शीतलनिवासबाट विद्रोह गराइयो, गुटबन्दी गरेर शीतलनिवासबाटै उम्मेदवार खडा गरेर चलखेल गरियो । यो पार्टीमा कसैको आँशु कसैको हाँसो भयो ।’

अष्टलक्ष्मीले शीतलनिवासमा बसेर गुट चलाउनु गलत भएको बताइन् । भनिन्, ‘एकजना महिलालाई राष्ट्रपति दोर्होयाउने कुरा गर्दा पार्टीमा सबैभन्दा त्याग र इतिहास बोकेको अर्को महिलालाई लात्तले हानेर भित्तामा पुराउने कति न्यायोचित हो ?’

उनले विद्या भण्डारीलाई समर्थन नगर्ने अडान अन्तिमसम्म राखिन् । भनिन् ‘म समर्थन गर्न सक्दिनँ, तपाईं पार्टीमा महिलाको कुरा गर्नुहुन्छ तर के पार्टीमा महिला विद्या मात्रै हुन् ?’ उपाध्यक्ष शाक्यले एमाले मुल्य,मान्यता, आर्दश र विचार समाप्त हुदै गएको बताइन् । भनिन्,‘ ‘विद्याका लागि आज मात्रै ५ घण्टा छलफल भयो । तर, मेरा लागि कति घण्टा छलफल गर्न तपाईं तयार हुनुभयो ? के मेरो पार्टीमा कुनै योगदान छैन ? मलाई हराउन तपाईं आफै लाग्नुभयो, यो पार्टीमा अन्याय बढ्यो । हुँदाहुँदा म प्रदेश इन्चार्ज छु, प्रदेशमा मन्त्री बनाउने विषयमा पनि हस्तक्षेप गर्नुभयो । यस्तो अन्याय सहेर पार्टीमा कति बस्नु ?’

घनश्यामले भने,‘संसदीय दलको नेतामा उम्मेदवारी दिन चहान्थ्थे’
उपमहासचिव घनश्याम भुषालले पार्टी बिधि र नियममा नचलेको भन्दै बिरोध गरेका थिए । उनले संसदीय दलको नेतामा आफूले उम्मेदवारी दिन चाहेको तर बैठक बारेमा अन्तिम समयसम्म जानकारी नै नदिएको बताए । १२ बजे हुने संसदीय दलको बैठकबारे आफूले ११.४५ मा मात्र थाहा पाएको उनले बताए । भने,‘अध्यक्ष ओलीविरुद्ध म संसदीय दलको नेतामा उम्मेदवारी दिन चाहन्थें, तर मलाई संसदीय दलको बैठकबारे अन्तिम समयसम्म जानकारी दिइएन ।’

उपमहासचिव भुसालले निर्णय प्रक्रियाप्रति ‘नोट अफ डिसेन्ट’ रहेको बताए । राष्ट्रपतिको उम्मेदवार, संसदीय दलको नेता तथा पार्टीबाट गत निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया प्रति असहमति राख्दै भुसालले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् । व्यक्ति प्रति होइन, निर्णय प्रक्रियाप्रति असहमति रहेको उनको भनाई छ । एउटा व्यक्तिको हकमा भयंकर छलफल गर्नुपर्ने तर अर्को व्यक्तिको हकमा बैठकमा छलफल, सुनुवाई समेत नहुने, अपारदर्शी र विधीप्रक्रिया मिच्ने प्रवृत्ति प्रति आफ्नो असहमति रहेको बताए ।

ओलीलाई योगेशको प्रश्नै प्रश्न

सचिव योगेश भट्टराईले पार्टी पद्दति अनुसार नचलेको, प्रक्रियाहरू मिचिएको भन्दै बिरोध गरे । उनले बैठकमा ओलीलाई प्रश्न गरे, ‘पार्टी कसरी लाउनुहुन्छ ? कार्यकारी प्रमुख भइसकेको व्यक्ति राष्ट्रपति हुन नहुने हो भने हिजो गिरिजाप्रसादलाई किन बनाउन खोजियो ? सुशील कोइरालालाई राष्ट्रपतिको अफर गर्ने तपाई कमरेड केपी ओली कामरेड नै होइन ? अहिले पार्टी एकता गरिरहँदा प्रचण्ड राष्ट्रपति हुन तयार भएको भए हामी मान्थ्यौं कि मान्दैनथ्यौं ?’

Similiar Post