कांग्रेसमा दुई परिवारबीच शक्तिसंघर्ष, देउवाको ‘प्लान’माथि कोइरालाको ‘काउण्टर प्लान’

काठमाडौं। देशको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसभित्र शक्तिसंघर्ष चर्किएको छ । कांग्रेसभित्रका दुई पुराना खेमा कोइराला परिवार र देउवा परिवारबीच चलेको यो शक्तिसंघर्षले पार्टीको आगामी महाधिवेशन थप रोचक बन्ने देखिएको छ ।

कांग्रेसको चौधौं महाधिवेशन नजिकिँदै छ । महाधिवेशनमा पत्नी आरजुलाई शक्तिमा पुर्याएर आफू ‘रिटायर’ हुने हालका सभापति शेरबहादुर देउवाको योजना छ । अर्कोतर्फ कोइराला परिवारको पकडबाट बाहिरिएसँगै कांग्रेस कमजोर भएको भन्दै पार्टीलाई पुनः कोइराला परिवारकै पकडमा ल्याउन यो परिवार सक्रिय छ । कोइराला परिवारको नेतृत्व महामन्त्री तथा बीपीपुत्र शशांक, नेता शेखर र गिरिजापुत्री सुजाताले गरिरहेका छन् ।

महाधिवेशनमा पत्नी आरजुलाई शक्तिमा पुर्याएर आफू ‘रिटायर’ हुने हालका सभापति शेरबहादुर देउवाको योजना छ ।

पत्नी आरजुलाई शक्तिमा पुर्याएर आफू विश्राम लिने योजना सभापति देउवाले झण्डै १ वर्षदेखि बनाइरहेका छन् । तर, देउवा आफ्ना अहिलेसम्मका प्रयासमा विफल छन् । देउवाले सुरुमा पत्नी आरजुलाई सांसद बनाउँदै पार्टी संसदीय दलको नेता बनाउने र आफू विश्राम लिने योजना बनाएका थिए । तर, आरजु पराजित भएसँगै देउवाको त्यो योजना तुहियो । योजना तुहिएपछि अहिले देउवा संसदीय दलको नेता आफैं बन्ने र अर्को चुनावमा त्यो पद पत्नीलाई हस्तान्तरण गर्ने योजनामा छन् ।

आरजु प्रतिनिधिसभामा पराजित भएपछि देउवाले उनलाई शक्तिमा पुर्याउन राष्ट्रियसभामा मनोनित गर्ने प्रस्ताव गरेका थिए । ओली–प्रचण्डलाई ‘ट्रयाप’मा पार्नेगरी एमालेका बामदेव गौतम, माओवादीका नारायणकाजी श्रेष्ठ र कांग्रेसबाट आरजुलाई राष्ट्रियसभामा मनोनित गर्ने देउवाको प्रस्ताव थियो । तर अप्रत्याशित रुपमा देउवाको यो योजनासमेत समेत तुहियो । अब देउवा आरजुलाई पार्टीको महामन्त्री बनाउने योजना कार्यान्वयनमा सक्रिय छन् ।

देउवाले आगामी महाधिवेशनमा सभापतिमा बीपीपुत्र शशांकलाई सभापति र पत्नी आरजुलाई महामन्त्री पदमा उम्मेदवार बनाउने प्रस्ताव शशांकसँग गर्ने तयारी गरेका छन् ।

पत्नी आरजुलाई उत्तराधिकारी बनाउनकै लागि आगामी महाधिवेशनमा देउवा सभापति पदबाट ब्याक हुँदैछन् । उनले आगामी महाधिवेशनमा सभापतिमा बीपीपुत्र शशांकलाई सभापति र पत्नी आरजुलाई महामन्त्री पदमा उम्मेदवार बनाउने प्रस्ताव शशांकसँग गर्ने तयारी गरेका छन् । यसो गर्दा शशांक र आरजुलाई कोइराला र देउवा दुवै प्यानलको सहयोग प्राप्त हुने देउवाको ठम्याइ छ ।

सभापतिमा शशांकलाई समर्थन गरेपछि कोइराला परिवारले महामन्त्रीमा आफूलाई समर्थन गर्ने देउवाको पूर्वानुमान हो । उता कांग्रेस संस्थापन भने सभापतिमा प्रकाशमान सिंह र महामन्त्रीमा शेखर कोइरालालाई उम्मेदवार बनाउने तयारीमा छन् । कोइराला परिवारनिकट संस्थापन पक्षका नेता रामचन्द्र पौडेलले गरेको यो तयारीमा स्वयं शशांक भने केही बोलेका छैनन् ।

प्रकाशमानलाई आफ्नो पक्षबाट सभापतिको उम्मेदवार बनाउने तर उनलाई हराएर देउवाको समर्थनमा आएका पारिवारिक उम्मेदवार शशांकलाई नै जिताउने कोइराला परिवारको योजना छ ।

पत्नी आरजुलाई दुवै प्यानलको साझा उम्मेदवार बनाउने देउवाको प्लानमाथि कोइराला परिवारले अर्को ‘काउण्टर प्लान’ बनाएको छ । कोइराला परिवारको ‘काउण्टर प्लान’अनुसार सभापतिमा संस्थापन पक्षले शशांकलाई नै सहयोग गर्नेछ । तर, महामन्त्रीमा भने आरजुलाई सहयोग नगरी शेखरलाई सहयोग गर्नेछ । प्रकाशमानलाई आफ्नो पक्षबाट सभापतिको उम्मेदवार बनाउने तर उनलाई हराएर देउवाको समर्थनमा आएका पारिवारिक उम्मेदवार शशांकलाई नै जिताउने कोइराला परिवारको योजना छ ।

यसो गर्दा सभापतिमा शशांक र महामन्त्रीमा शेखर आउनेछन् । यी दुई शक्तिशाली पदमा कोइराला परिवारको पकड भएपछि पूरै पार्टी पारिवारिक नियन्त्रणमा आउनेछ । किनकि कांग्रेसभित्र निर्वाचित हुने भनेको सभापति, महामन्त्री र कोषाध्यक्ष मात्र हो । बाँकी सबै पदाधिकारी मनोनित भएर आउने हुन् । र, मनोनित गर्ने अधिकार सभापतिमा हुने भएकोले यी सबै पदमा शशांकको एकाधिकार हुनेछ ।

गिरिजापुत्री सुजातालाई उपसभापतिमा व्यवस्थापन गर्ने कोइराला परिवारको योजना छ । उनी यो पदका लागि आकांक्षी पनि छिन् ।

कोइराला परिवारबाट सक्रिय राजनीतिमा रहेकी गिरिजापुत्री सुजातालाई उपसभापतिमा व्यवस्थापन गर्ने कोइराला परिवारको योजना छ । उनी यो पदका लागि आकांक्षी पनि छिन् । सक्रिय राजनीतिमा आएपछि सबैजसो पदमा मनोनित भएरै पुगेकी सुजाता यहाँ पनि मनोनित पदबाटै पुग्नेछिन् । अहिलेसम्म सबै निर्वाचनमा समानुपातिक उम्मेदवार भएर सांसद बनेकी सुजाता यसपटक पनि मनोनित हुँदै शक्तिमा पुग्ने र पूरै पार्टी कोइराला परिवारको नियन्त्रणमा ल्याउने योजना अनुसार शक्ति हात पार्ने संघर्ष कांग्रेसभित्र सुरु भइसकेको छ ।

Similiar Post